बागमतीमा तीन महिनामा १ हजार ८२९ नयाँ उद्योग दर्ता

मकवानपुर । बागमतीमा आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिकमा कुल १ हजार ८२९ वटा नयाँ उद्योग दर्ता भएको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमतीले जनाएको छ ।

मन्त्रालयका सुचना अधिकारी सुनिल बञ्जाराका अनुसार बागमती प्रदेशमा अधिकांश उद्योगहरू काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर), चितवन, मकवानपुर र काभ्रेमा केन्द्रित रहेको देखिएका छन् ।

बागमती प्रदेशका काठमाडौँ जिल्लामा सर्वाधिक ६७२ वटा उद्योग दर्ता भएका छन् । काठमाडौँपछि धेरै उद्योग दर्ता भएको जिल्ला नुवाकोट रहेको छ । नुवाकोटमा मात्रै २२८ नयाँ उद्योग दर्ता भएका छन् ।

मकवानपुरमा १२३ वटा उद्योग दर्ता भएका छन् । काभ्रेमा २१० वटा उद्योग यो अवधिमा दर्ता भएका छन् । त्यस्तै ललितपुरमा १६९ वटा र भक्तपुरमा ९४ उद्योग दर्ता भएका छन् । यस्तै चितवनमा ८९, सिन्धुलीमा ५७, रामेछापमा ३२, दोलखामा ३९, सिन्धुपाल्चोकमा २७, रसुवामा १२, नुवाकोटमा २२८, र धादिङमा ७६ उद्योग पछिल्ला तीन महिना दर्ता भएका सुचना अधिकारी बञ्जाराले जानकारी दिनुभएको छ ।

वाणिज्यतर्फ ८३८ उद्योग दर्ता

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमतीका अनुसार आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिकमा वाणिज्य तर्फ मात्रै कुल ८३८ वटा उद्योगहरु दर्ता भएका छन् ।

वाणिज्यतर्फ पनि सबैभन्दा धेरै काठमाडौँ जिल्लामा २६६ वटा उद्योग दर्ता भएका छन् । वाणिज्य तर्फ सबैभन्दा कम रसुवामा ५ वटा उद्योग दर्ता भएको मन्त्रालयले दिएको तथ्याकंमा उल्लेख छ ।

त्यस्तै, मकवानपुर, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, नुवाकोट, र दोलखामा क्रमशः १०९, ४०, ६१, १०२, ९७, ५२, १६, १०, २० र ४६ वटा नयाँ उद्योग दर्ता भएका छन् । ७ करोड २३ लाख ७० हजार २३८ रुपियाँ राजस्व संकलन बागमतीमा चालु आर्थिक वर्षको २०८२/०८३ को तीन महिनाको अवधिमा नयाँ उद्योग, दर्ता, बन्द, संशोधनलगायतबाट कुल ७ करोड २३ लाख ७० हजार २३८ रुपियाँ राजस्व संकलन भएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमतीका अधिकृत सातौं रमेश पौडेलले जानकारी दिनुभयो । जसमा सबैभन्दा धेरै काठमाडौँका उद्योगहरुबाट २ करोड ५७ लाख ५० हजार १२ रुपियाँ राजस्व संकलन भएको छ ।

यस्तै मकवानपुरमा ५८ लाख ५५ हजार १२५, चितवनमा ८४ लाख ३४ हजार ७७५, ललितपुरमा ७७ लाख २३ हजार ९६९, काभ्रेमा ६० लाख ५६ हजार ९००, भक्तपुरमा ३९ लाख ९८ हजार १५५, नुवाकोटमा ३४ लाख ९६ हजार ४२५, धादिङमा ३० लाख १३ हजार ४१, सिन्धुलीमा १८ लाख ९० हजार २१० रुपियाँ राजस्व संकलन भएको हो । त्यस्तै सिन्धुपाल्चोकमा १७ लाख ६७ हजार ४२५, दोलखामा १६ लाख ३७ हजार ८२५, रामेछापमा १२ लाख ४६ हजार ६५०, दोलखामा १६ लाख ३७ हजार ८२५, र रसुवामा ४ लाख ८४ हजार ३७ रुपियाँ राजस्व संकलन भएको पौडेलले जानकारी दिनुभयो ।

यस अवधिमा उद्योग तथा वाणिज्यबाट भएको बजार अनुगमनबाट नियम विपरित सञ्चालन भएका उद्योग तथा फर्मलाई कुल १२ लाख १३ हजार जरिवाना लगाइएको छ । प्रदेशमा दर्ता भएका प्रमुख उद्योगहरूमा कपडाका सामान, जीवजन्तुको आहार, छालाका जुत्ता, ऊनको तयारी पोसाक, सुतिको तयारी पोसाक, गलैँचा, पश्मिना, फेल्टका सजावटका सामान, चाउचाउ, पेय पदार्थ, बिस्कुट, इँटा, औषधी र सिमेन्ट उद्योगहरू पर्दछन् ।

बागमतीमा औद्योगिक गतिविधि सकारात्मक

बागमती प्रदेशमा गत आर्थिक वर्ष २०८१/०८२ मा औद्योगिक गतिविधि सकारात्मक देखिएको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको छ । अघिल्लो साता मात्रै नेपाल राष्ट्र बैंकले गरेको बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनअनुसार २०८१ साउनदेखि २०८२ को अन्तिम सम्मको अवधिमा प्रदेशमा उद्योग दर्ता, राजस्व संकलन लगायत अन्य औद्योगिक गतिविधि सकारात्मक देखिएको हो ।

प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा उद्योगहरूले कुल ७१ अर्ब ९७ करोड रुपैयाँ बराबरको पुँजी प्रस्ताव गरेका छन् भने २४ हजार ९३ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

हेटौंडा–४ मा शैक्षिक तथा खेलकुद गतिविधि तीव्र, विभिन्न प्रतियोगिता र सम्मान कार्यक्रम घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालय तथा शैक्षिक गुणस्तर सुधार समितिले वडाभित्र शिक्षा, खेलकुद तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकास गर्ने उद्देश्यले...

बागमती सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका खनाल नियुक्त

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाल नियुक्त भएका छन् । विहिबार दिउँसो हेटौँडामा बसेको बागमती प्रदेश सरकारको...

बागमतीमा ‘हेल्लो सियम डेस्क’ स्थापना गरिने

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा ‘हेल्लो सियम डेस्क स्थापना’ कार्यक्रम समेटेको छ । प्रदेशवासी नागरिकले भोग्नुपरेको समस्या,...