मकवानपुर । बागमती प्रदेश सभामा हालसम्म ८९ वटा कानुन निर्माण भएका छन् ।
बागमती प्रदशेसभाबाट ९० विधेयक पारित भएपनि ८९ वटा मात्र प्रदेश राजपत्रमा प्रकाशित भएका छन् ।
एक विधेयक प्रदेशसभाबाट पारित भएपनि राजपत्रमा प्रकाशित हुन सकेको छैन । प्रदेश चिठ्ठा विधेयक संसदबाट पारित भएपनि प्रदेश प्रमुखबाट प्रमाणिकरण नहुँदा पुनः संसदमा नै विचाराधिन अवस्थामा रहेको छ ।
हाल प्रदशेसभामा ३ वटा विधेयक सभा, समिति तथा सचिवालयमा विचाराधीन अवस्थामा रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
बुधबार प्रदेश सभाको आठौँ वार्षिकोत्सव अन्तरगत सचिवालयले गरेको पत्रकार सम्मेलनमा प्रदेश सभाकी सभामुख अप्सरा चापागाईँले प्रदेश सभा स्थापनादेखि हालसम्मको संक्षिप्त विवरण जानकारी गराएकी हुन् ।
उनका अनुसार प्रदेश सभाले पाँचौँ अधिवेशनमा ६ वटा बैठक सञ्चालन गर्दै ९ घण्टा २५ मिनेट समय खर्च गरेको थियो । त्यसैगरी छैटौँ अधिवेशनमा २४ वटा बैठक बसेका छन्, जसमा ३९ घण्टा २१ मिनेट समय खर्च भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयले कानून निर्माण, कार्यान्वयन तथा अपेक्षासम्बन्धी स्थानीय तहसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
अन्तर–प्रदेश अनुभव आदान–प्रदान, सञ्चारकर्मीसँग अन्तरक्रिया, स्वकीय सचिव तथा कर्मचारीका लागि क्षमता अभिवृद्धि कार्यक्रम, महिला माननीय सदस्यहरूका लागि सशक्तीकरण कार्यक्रम, नमुना संसद कार्यक्रमलगायतका गतिविधि सचिवालयले सञ्चालन गरेको छ ।
त्यस्तै, विषयगत समितिका सदस्यहरूलाई विधेयक मस्यौदा तयारी तथा प्रतिवेदन लेखनसम्बन्धी तालिम, प्रदेश निजामती ऐन २०७९ को उत्तर विधायिकी प्रशिक्षण तथा सरोकारवालासँग छलफल कार्यक्रमसमेत गरिएको छ । प्रदेश सभा भ्रमणमा आउने आगन्तुकलाई नियमित रुपमा प्रदेश सभासम्बन्धी जानकारी प्रदान गरिँदै आएको सचिवालयले जनाएको छ ।
जेनी प्रदर्शनपछिका सुधारात्मक कार्यअन्तर्गत हेटौँडा उपमहानगरपालिकाको परिसरमा निर्मित हलमा अस्थायी रुपमा प्रदेश सभा सञ्चालनको तयारी गरिएको छ । क्षति पुगेका भवनहरुको मर्मत, सचिवालयको दैनिक कार्य सञ्चालन तथा विषयगत समितिको बैठक व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाइएको छ ।
प्रदेश सभाको आठौँ वार्षिकोत्सव अन्तरगत प्रदेश सभा दर्पण प्रकाशन, रक्तदान कार्यक्रम, पत्रकार भेटघाट सम्पन्न गरेको छ ।
सचिवालयका अनुसार विहिबार कार्यालय परिसर सरसफाइ गरिनेछ । माघ १५ गते दिउँसो २ बजे प्रदेश सभा सचिवालयको प्राङ्गणमा विशेष समारोह सञ्चालन गरी वार्षिकोत्सव सम्पन्न गर्ने जनाइएको छ ।
गत भदौमा भएका जेनजी प्रर्दशनका क्रममा प्रदेशका सरकारी संरचनामा तोडफोड र आगजनी हुँदा प्रदेश सभा तथा सचिवालयमा समेत क्षति पुगेको थियो । सचिवालयको पुरानो र नयाँ भवन पूर्ण रुपमा क्षतिग्रस्त भई मर्मत गर्न नसकिने अवस्थामा पुगेको छ । प्रदेश सभाले अनुमानित ३२ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको विवरण तयार गरी प्रमाणीकरण गरिसकेको छ ।
प्रदेश सभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ जना निर्वाचित सांसद छन् । यद्यपी, यसअघि प्रदेश सभाका ६ सांसदले प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि गत माघ ५ मा राजीनामा दिएपछि प्रदेश सभामा हाल १०४ जना सांसद रहेका छन् ।
कांग्रेसका सांसद कुन्दनराज काफ्लेसहित एमालेका प्रकाश श्रेष्ठ, अमन कुमार मास्के, तत्कालीन नेकपा एकीकृत समाजवादी हालको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वसन्त मानन्धर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद सुनिल केसी र तत्कालीन नेकपा माओवादी केन्द्र (हालको नेकपा) का सांसद युवराज दुलालले राजीनमा दिएका थिए ।




