मकवानपुर। नजिकिदै गरेको राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेश तर्फको २ सिटमा उम्मेद्वारी दर्ता गरेका ६ जनालाई चुनाव चिन्ह प्रदान गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका अनुसार निर्वाचन प्रक्रिया अन्तर्गत बागमती प्रदेश निर्वाचन कार्यालयले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत सोमबार उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गरिएको हो ।
आइतबार अन्तिम नामावली प्रकाशित गरी कायम रहेको ६ जना उम्मेद्वारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत गीता श्रेष्ठले बताउनुभयो ।
निर्वाचनका लागि महिला क्लस्टरमा एमाले कांग्रेस गठबन्धनबाट चितवनकी गीता देवकोटाले उम्मेद्वारी दिनुभएको थियो ।
कांग्रेसबाट उम्मेद्वार बन्नुभएकी देवकोटालाई रुख चिन्ह प्रदान गरिएको छ भने अन्य क्लस्टरमा गठबन्धनबाट उम्मेद्वार बन्नुभएका काठमाडौँका डा. प्रेमप्रसाद दंगाललाई सूर्य चिन्ह प्रदान गरिएको छ ।
एमाले निकट अखिल नेपाल कृषक महासङ्घका अध्यक्ष समेत रहनुभएका दंगाललाई एमालेको चुनाव चिन्ह सूर्य प्रदान गरिएको हो ।
यता, अन्य समूहबाट उम्मेद्वारी दिनुभएका नेकपाका उम्मेद्वार प्रेमप्रसाद सापकोटालाई पाँचकुने तारा र नेमकिपाको तर्फबाट उम्मद्वार बन्नुभएका विक्रम डुकुछुलाई मादल चिन्ह प्रदान गरिएको छ ।
महिला क्लस्टरमा उम्मेद्वार बन्नुभएकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सरोजकुमारी झालाई पाँच कुने तारा र नेपाल मजदुर किसान पार्टीबाट उम्मेद्वार बन्नुभएकी कविता महर्जनलाई मादल चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।
निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका कार्यक्रम रहेको छ । बागमती प्रदेशमा आगामी फागुनमा पदावधि सकिने राष्ट्रियसभाका सदस्य २ जना रहेका छन् ।
हाल नेकपामा आबद्ध रहनुभएका तत्कालीन एकीकृत समाजवादीका बेदुराम भुसाल र गङ्गाकुमारी बेलबासेको पदावधि सकिँदैछ ।




