मकवानपुर । हेटौँडाको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्ने कार्य विरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतमा आइतबारलाई तोकिएको पेसी पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।
सर्वाेच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासमा तोकिएको पेसी आइतबार हेर्न नभ्याइने सूचीमा परेको हो ।
सडक विस्तारका क्रममा आफ्नो घरजग्गा र सम्पत्तिको सुरक्षाको माग गर्दै विन्दवासिनी कंसाकार सहितका स्थानीयले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
यसअघि पुष २, पुष ५ र पुस १३ गतेको पेसी पनि हेर्न नभ्याइने र नमिल्ने सूचीमा परेको थियो ।
हेटौँडा बजारको २५ मिटर सडक विस्तार गर्ने योजना अनुसार मंसिर २० मा बजार क्षेत्रका पाँच सय बढी घर तथा टहरा भत्काइएको थियो ।
उक्त कार्यको विरुद्धमा कंसाकार लगायतका स्थानीय सर्वाेच्च पुगेका थिए । उक्त मुद्दामा रिट निवेदकहरूले उचित मुआब्जा र कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिगत सम्पत्तिमा क्षति पु¥याउन नहुने जिकिर गर्दै आएका छन् ।
डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतलाई विपक्षी बनाएर उक्त मुद्धा दर्ता गरिएको हो । मुद्धामा गत मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीका नाममा ‘कारण देखाऊ आदेश’ जारी गरेको थियो ।
सर्वाेच्चले सडक विस्तारको कार्य तत्काल अघि नबढाउन ‘अल्पकालीन अन्तरिम आदेश’ समेत दिएको थियो । सोही आदेशको निरन्तरता र अन्तरिम आदेशको विषयमा छलफल गर्न पटक–पटक पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ तथा ‘हेर्न नमिल्ने’ सूचीमा पर्दै आएको छ ।




