मकवानपुर  । मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत १४० जना विद्यार्थीलाई विद्यालय झोला तथा खाद्यान्न वितरण गरेको छ।

साथै संस्थाले अभिभावकविहीन ११ जना विद्यार्थीको शैक्षिक अभिभावकत्व बहन गर्ने घोषणा गरेको छ।

मकवानपुरगढी गाउँपालिका–२ मा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष हरि प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय महासचिव छतेन्द्र आचार्य विशिष्ट अतिथि तथा वडा नम्बर २ का अध्यक्ष बखान सिंह पाख्रिन, विद्यालयका प्रधानाध्यापक केशव देवकोटा, महासंघका केन्द्रीय सदस्य नवराज चौलागाईं, संस्थाका पूर्व अध्यक्ष दिनेश लगायत अतिथिका रूपमा सहभागी भएका थिए। मोबाइल व्यवसायी तथा संस्थाका सदस्यहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

स्थापना दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्दै एसोसिएसनले १४० जना विद्यार्थीलाई विद्यालय झोला तथा खाद्यान्न सामग्री वितरण गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए।

उनले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले अभिभावकविहीन ११ जना विद्यार्थीको शैक्षिक अभिभावकत्वसमेत ग्रहण गरिएको बताए।

प्रमुख अतिथि दोर्जे लामाले निजी क्षेत्रका व्यवसायिक संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा र बालबालिकाको भविष्यसँग जोडिएका कार्यक्रम सञ्चालन गर्नु सकारात्मक कदम भएको उल्लेख गरे।

उनले यस्ता कार्यले समुदायमा सहयोग र सहकार्यको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरे।