मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका ५३१ घरटहरा भत्किने भएका छन् ।
सडक डिभिजन कार्यालय हेटौंडाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) भित्र बनेका स्थायी र अस्थायी घरटहरा तथा अन्य गरी ५३१ संरचनाहरु भत्किने जानकारी गराएको हो ।
यसअघि गत ५ मंसिरमा सडक डिभिजन कार्यालय हेटौँडाले सार्वजनिक सूचना जारी गर्दै उक्त सीमा क्षेत्रभित्र पर्ने संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो, जसको अवधि अब ६ दिन रहेको छ ।
डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार सडकको दाँया तर्फ २३४ र बाँयातर्फ २९७ गरी ५३१ संरचना भत्किने भएको हो । हाल कार्यालयले तोकिएको सीमाक्षेत्र भित्र सडक रेखाकंन र वैकल्पिक मार्ग पहिचानको कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ । “यसअघि सर्वाेच्चमा परेका सम्पूर्ण रिट खारेज भइसकेको अवस्था छ । फैसलाको आदेश खण्ड अनुसार राजमार्ग व्यवस्था ऐन २०२१ बमोजिम राजमार्गको क्षेत्र घोषित सडकको केन्द्रबाट दाँयाबायाँ २५/२५ गजसम्मको जग्गाको हकमा सो ऐनको दफा ५ को प्रतिबन्धात्मक वाक्याशंको अवस्था छ भनि प्रमाणित गर्न सकेको अवस्था बाहेक क्षतिपूर्ती पाउने अवस्था हुँदैन । निवेदकले सो अवस्था देखाई दावी गरेको अवस्था छैन । तसर्थ, सडक केन्द्रविन्दुबाट दाँयाबाँया २५/२५ गजको हकमा क्षतिपूर्ती वा मुआब्जा दिनु नपर्ने स्पष्ट व्यवस्था रहेको छ ।”
त्यसोत, घरधनी तथा व्यवसायीले तोकिएको अवधि सम्ममा सरंचना खाली नगरे कानुनी कारबाहि प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभएको छ ।
यसअघि सडक डिभिजन कार्यालय मकवानपुरले सडक विस्तारका लागि पटकपटक सूचना जारी गरेपनि कहिले स्थानीय वासी त, कहिले उद्योग वाणिज्य संघ मकवानपुरको विरोधमा विस्तार कार्य रोकिएको थियो ।
यसअघि कार्यालयले २०७३ साल असार २०, २०७६ मंसिर, २०८० साल माघ ३ मा सडक विस्तारका लागि सीमाक्षेत्र भित्रका संरचना हटाउन सूचना जारी गरेको थियो । तर, बजार क्षेत्रका घरधनीहरुले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेपछि सो कार्य रोकिएको हो ।
सूचनामा तोकिएको समय सीमाभित्र अतिक्रमित संरचनाहरु हटाएको नपाइएमा सडक डिभिजनद्वारा हटाइने र सो वापतलाग्ने खर्च सार्वजनिक सडक ऐन, २०३१ एवं अन्य प्रचलित कानूनबमोजिम संबन्धितहरुबाट असूल उपर गरिने सडक डिभिजनले जनाएको छ ।
मंसिर ५ मा कार्यालयबाट जारी सुचनामा भनिएको छ “सडक डिभिजन हेर्टांडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि दायाँ–बायाँदुवैतिर २५/२५ मिटर कायम गरिएको जनाएको छ । तोकिएको सीमाभित्र सडक विभागको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउन, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्न वा भत्काउन, किला, लट्ठा, तगारो आदि गाड्न वा हाल्न वा घर टहरा वा छाप्रो बनाउन वा सडक सीमाभित्रको जग्गा आवादी गर्न वा यस्तै अन्य कुनै कार्य गर्न सार्वजनिक सडक ऐन, २०३१ ले निषेध गरेको छ ।”
सर्वाेच्च अदालतको २०७८ पुस १९ गते लगायत विभिन्न मितिका उत्प्रेषण आदेशहरु समेतबाट सडक डिभिजन हेटौंडाअन्तर्गत पर्ने रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडक केन्द्रबाट २५/२५ गजको क्षेत्रमा क्षतिपूर्ति पाउने हुँदैन भनी फैसला भएको सूचनामा उल्लेख छ ।
त्यस्तै मिति २०८०/०३/ १० गते यस डिभिजनबाट सडक सीमा अतिक्रमण हटाउन प्रकाशित सुचना विरुद्ध परेको रिट निवेदनलाई सर्वाेच्च अदालतबाट खारेज भइसकेको सुचनामा उल्लेख छ ।




