मकवानपुर । बागमती प्रदेश विश्व विद्यालयले पाँच वटा क्याम्पसलाई आङ्गिक क्याम्पसका रुपमा सञ्चालन गर्नेगरी औपचारिक रुपमा सम्झौता गरेको छ ।
प्रदेशको उच्च शिक्षालाई थप व्यवस्थित, गुणस्तरीय र पहुँचयोग्य बनाउने उद्देश्यका साथ विश्वविद्यालयले प्रदेशका विभिन्न जिल्लामा सञ्चालित प्रतिष्ठित क्याम्पसहरुलाई आफ्नो आङ्गिक क्याम्पसको रुपमा अगाडि बढाउने निर्णय गरे अनुसार सम्झौता गरिएको हो ।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बागमती हेटौँडामा एक कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा यसअघि स्वीकृती पाएका त्यी क्याम्पसहरुबीच औपचारिक सम्झौता भएको हो ।
सम्झौता अनुसार भुवानी शङ्कर बहुमुखी कलेज, जनमैत्री बहुमुखी कलेज, कपन बहुमुखी क्याम्पस, चैतन्य बहुमुखी क्याम्पस र माडी क्याम्पसलाई बागमती प्रदेश विश्वविद्यालयका आङ्गिक क्याम्पसका रुपमा सञ्चालन औपचारिक रूपमा स्वीकृति दिइएको हो ।
यसअघि बागमती प्रदेशभित्र सञ्चालनमा रहेका यी क्याम्पसहरूले बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८ को दफा ९ (३ ) र (४) प्रदेश उच्च शिक्षा नियमावली २०७९ को नियम १७ तथा बागमती प्रदेश विश्वविद्यालयको विधान २०८१ को दफा ३६ बमोजिम बागमती प्रदेश विश्वविद्यालयको रुपमा सञ्चालित हुनका लागि निवेदन दर्ता गराएका थिए ।
बागमती प्रदेश विश्वविद्यालय संरक्षक समितिको सचिवालय हेटौँडाले उक्त सूचना प्रथमपटक मिति २०८१ /११/ २८ गते प्रकाशित गरेको थियो ।
एक महिनाको समय दिएर निकालिएको सूचनामा प्रदेश भित्रका ४० भन्दा बढी क्याम्पसले आवेदन दिएका थिए ।
सम्झौता सम्पन्न सँगै उक्त क्याम्पसहरु विश्व विद्यालयको प्रत्यक्ष प्रशासनिक तथा शैक्षिक संरचना अन्तर्गत संचालन हुनेछ ।
सम्झौता कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले परम्परागत शिक्षा प्रणालीले बेरोजगार मात्र उत्पादन भइरहेको बताउनुभएको छ । उहाँले अबको शिक्षालाई प्रविधि र सीपसँग जोड्नुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेश विश्वविद्यालय अन्तर्गतका आंगिक कलेजहरुसँगको सम्झौता कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री बानियाँले विगतको शिक्षा प्रणालीले बढी मात्रामा अप्राविधिक जनशक्ति उत्पादन गरेको टिप्पणी गर्नुभयो ।
प्रदेश सरकारले अब ‘गरी खाने’ शिक्षा नीति लागु गर्न चाहेको उहाँले स्पष्ट पार्नुभयो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका क्याम्पसहरु बागमती विश्वविद्यालयमा समायोजन हुँदा कतिपयमा संशय देखिएको भन्दै उहाँले आत्मीयता बढाउन आग्रह गर्नुभयोे । उहाँले विगतमा अभिभावकविहीन बच्चा जस्तो अवस्थामा रहेका शैक्षिक संस्थाहरुलाई अब प्रदेश सरकारले आफ्नो अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“बेरोजगार उत्पादन गर्ने शिक्षाको अब काम छैन । २१औँ शताब्दी र एआई को जमानामा शिक्षालाई प्रविधि, सीप र तालिमसँग जोडेर जीवनयापन गर्न सकिने बनाउनुपर्छ ।” उहाँले भन्नुभयो, “मुटु माथि ढुंगा राख्नु प¥या छ भने जस्तो होइन, हृदय भित्र मुटु राखेर काम गरौँ । तपाईंहरु (आंगिक कलेज) अब बागमती प्रदेश विश्वविद्यालयको अंग हुनुभएको छ । हामी अभिभावकको भूमिकामा छौँ । जसरी बुवाआमाले छोराछोरी बिग्रिन नदिन प्रत्यक्ष रेखदेख गर्छन् । त्यसरी नै प्रदेश सरकारले विश्वविद्यालय र यसका आंगिक कलेजहरुलाई सबल र सक्षम बनाउन निगरानी र सहयोग गर्नेछ ।”
मुख्यमन्त्री बानियाँले विद्यार्थीहरुले पढ्दै, सिक्दै र कमाउँदै गर्ने वातावरण सिर्जना गर्न पाठ्यक्रममै परिवर्तन आवश्यक रहेको औँल्याउनुभयो ।
बागमती प्रदेशले शिक्षा नीतिमा रोजगार सिर्जना गर्ने र डिजिटलाईज्ड प्रणालीलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।
संघीय सरकारले नीति, प्रदेशले विकास र स्थानीय तहले सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उहाँ भनाई छ । उहाँले बागमती सरकार स्वास्थ्य, शिक्षा र कृषिलाई प्रविधिसँग जोडेर समग्र विकासको गतिमा अघि बढ्न चाहेको बताउनुभयो ।
उहाँले विश्वविद्यालय नेतृत्वलाई अनुभवी र प्राविधिक पक्षलाई समेटेर अघि बढ्न निर्देशन समेत दिनुभयो ।




