अब संसदमा गुञ्जिनेछन् दलित समूदायको आवाज

हेटौंडा । २०३४ सालको साउने झरी । तत्कालीन हलुवार गाविस दाङको पर्सेनीमा बुवा भरत विश्वकर्मा र आमा दौलती विश्वकर्माको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएकी पवित्रा विश्वकर्मा ।

सु–सम्पन्न परिवारमा जन्मिएकी पवित्रालाई परिवारले भरपुर स्याहारसुसार गरे । उनको बाल्यकाल सुखसयलमा बित्यो ।
ब्राम्ह्ण क्षेत्रीको बाहुल्यता रहेको गाउँ थियो पर्सेनी । जहाँ दलित समूदायलाई विभेदपूर्ण सोचले हेरिन्थ्यो । आर्थिक हिसाबले सम्पन्न भएतापनि विभेदकारी सामाजको व्यवहारले कता,कता चिसिएको थियो पवित्राको परिवार । त्यतिबेला घरमा धारा नपुगिसकेकाले घरछेउको पँधेरोमा पानी लिन जानुपथ्र्यो । पवित्रा पानी लिन घरदेखि निस्किएपछि चार हात पर सरेर तर्किन्थे गाउँका महिला । “धारा नछोउ, तिमीले छोएको पानी हामीले खान मिल्दैन” लगायतका शब्द उनका लागि अब नौला थिएनन् ।

जाडो महिना । उनी कक्षा ५ मा पढ्दै थिइन् । विद्यालयले पिक्निकको आयोजना ग¥यो । उनी पनि सहभागी भइन् । अन्य साथी सरह उनले पिकनिकमा कुनै काम सघाउन पाइनन् । जब खानेबेला भयो शिक्षकहरुले पवित्रा र दलित साथीलाई अरु साथी देखि अलि पर राखेर छुट्टै बिच्छ्याउना लगाइदिए । त्यतिबेला सम्म आफूमाथिको व्यवहार जोख्न जान्ने भइसकेकी थिइन् पवित्रा । शिक्षकको त्यस व्यवहारले आफूलाई पिक्निक भोज समेत नरुचेको र मानसिक रुपमा विक्षिप्त बनाएको उनी सुनाउँछिन् ।

उमेर मात्र १४ वर्षको थियो, जब उनको विवाहको कुरा चल्न थाल्यो । गाउँकै महेन्द्र माध्यमिक विद्यालयमा कक्षा आठ उर्तीण गरेकी उनले धनकुटाका वीर बहादुर विश्वकर्मासँग विवाह गरिन् । विवाह गरेको १ वर्षपछि हेटौंडा आएर बस्न थाल्यो विक दम्पती । १९ वर्षको कलिलो उमेरमानै ३ छोराको आमा बनेकी पवित्रालाई छोराहरु हुर्किएपछि भने श्रीमान वीरले घरको चुल्होचौका छाडेर सामाजिक कार्यमा लाग्न हौसँला दिए ।

उनी २०५८ देखि दलित महिला संघ (फेडो)मा आवद्ध भइन् । फेडोको केन्द्रीय कार्यालयले काठमाडौंमा एक कार्यकक्रम आयोजना गरेको थियो । सोहि कार्यक्रममा सहभागी भएपश्चात् दलित समूदायको उत्थानकालागि आफूले कदम चाल्न सुरु गरेको उनी सुनाउँछिन् । पवित्रा मकवानपुरका दलित वस्तीहरुमा गएर त्यहाँका महिलाहरुसँग भेट्न थालिन । त्यहाँ आफूले आफ्नो हक अधिकारका निम्ति लड्नुपर्छ, बचत गर्ने बानीको विकास गर्नुपर्छ र आर्थिक सीप सिकेर जिविकोपार्जनमा जोडिनुपर्छ भनेर महिलाहरुलाई जागरुक बनाउन थालिन् । कैयौं कार्यक्रमहरुमा आफूलाई बोल्न नदिने र आसन ग्रहणसमेत नगराउने तिता अनुभव उनको मानसपटलमा ताजै छन् ।

निस्वार्थ रुपमा गाडी भाँडा खर्चिएर गाउँगाउँ पुग्ने पवित्रा आफूमाथि बालापनको विभेद सम्झिएर थाकेका पाईलाहरु लामालामा गरी अघि सार्थिन्, अनि तिनै खुट्टामा मल्हम पट्टी गर्थे श्रीमान वीर । दुःख र संघर्षको लामो सहयात्रामा आफूसँगै रहेका श्रीमानलाई सुखको माला पहिरन नपाउदा खिन्न भइरहने उनी बताउँछिन् ।

जातीय विभेदविरुद्धको आवाज उठाउदै आएकी पवित्रा विश्वकर्मा (विक)लाई कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनाएको छ । उनी दलित क्लस्टरबाट सांसद चुनिएकी हुनु् । कैंयौ वर्षको संघर्षले संसदसम्म पु¥याउँदा श्रीमान वीरलाई धेरै सम्झिएको उनी बताउँछिन् ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा समानुपातिकतर्फबाट प्रनितिधिसभा सदस्य बन्ने अवसर उनले मात्र प्राप्त गरेकी हुन् । २०६१ सालपछि कांग्रेसको भातृ संगठन नेपाल महिला संघ मकवानपुरको कोषाध्यक्ष जिम्मेवारी वहन गरिसकेकी पवित्रा नेपाल दलित संघको केन्द्रीय सदस्यसमेत बनिसकेकी छन् । उनी कांग्रेसको १४ औं महाधिवेशनको महासमिति सदस्यको रुपमा निर्वाचित भएकी थिइन् । पवित्रा यसअघि २०७४ को निर्वाचनमा पनि समानुपातिकतर्फको उम्मेद्वार बनेकी थिइन् । त्यतिबेला आफ्नो नाम पाँचौ नम्बरमा रहेको र प्रतिनिधिसभाको सदस्य बन्ने अवसर नपाएको उनी सुनाउँछिन् ।

२०६१ सालपछि कांग्रेसको भातृ संगठन नेपाल महिला संघ मकवानपुरको कोषाध्यक्ष जिम्मेवारी वहन गरिसकेकी पवित्रा विश्वकर्मा दलित संघको केन्द्रीय सदस्यसमेत बनिसकेकी छन् । दुई दशक देखि ८ कक्षामै रोकिएको पढाईलाइ उनले श्रीमानको आग्रहमा निरन्तरता दिइन् । उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । दलित महिला संघ (फेडो)मा २०५८ सालदेखि निरन्तर सक्रिय रहँदै आएकी पवित्रा २०६१ सालमा फेडो मकवानपुरको अध्यक्ष बनिन् । उनी तीन पटक फेडो मकवानपुरको अध्यक्ष बनिन् ।

फेडो बागमती प्रदेशको अध्यक्षको जिेवारीसमेत वहन गरेकी विकसँग समावेशी महिलाहरूको सन्जाल संकल्पको अध्यक्ष बन्दाका अनुभव समेत छ ।

करिब २४ वर्ष निरन्तर दलित समूदायको आवाज बनेकी पवित्रा अब संसदमा जातीय विभेद विरुद्ध आवाज उठाउने, दलित समूदायको उत्थानका लागि कानुन निर्माणमा पहल गर्ने, बालविवाह न्युनीकरणका लागि पहल गर्ने बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

बागमती प्रदेशमा पुँजीगततर्फको ६ अर्ब बढी बजेट कटौती

मकवानपुर । बागमती प्रदेश सरकारले जेनजी आन्दोलन र विपद्बाट क्षति पुगेका संरचना पुनः निर्माण तथा व्यवस्थापनका लागि पुँजीगत तर्फको बजेट कटौती गरेको छ ।...

मकवानपुरका ६ नेताको एमाले केन्द्रीय सदस्यमा उम्मेद्वारी

मकवानपुर । काठमाडौंमा जारी नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा मकवानपुरबाट प्रतिनिधि भएर गएका १७ मध्ये ६ जना नेताले केन्द्रीय सदस्य पदका लागि...

जिरी घोषणापत्र जारी गर्दै सकियो नेपाल पत्रकार महासंघ बागमतीको बैठक

मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रेस स्वतन्त्रताको संरक्षण, सरकारी विज्ञापन प्रणालीमा पारदर्शिता, साना सञ्चारमाध्यमको प्रवर्द्धन तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायको...