मकवानपुरका दुग्ध किसानलाई १४ करोडभन्दा बढी रकम अड्कियो

मकवानपुर। मकवानपुरमा दुग्ध उद्योगहरुले लामो समयदेखि किसानलाई दुधको भुक्तानी नगर्दा हजारौँ किसान आर्थिक दबाबमा परेका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार करिब चार वर्षदेखि केही उद्योगहरुले रकम नतिर्दा किसानले झन्डै १४ करोड ३५ लाख रुपैयाँ पाउन बाँकी रहेको छ ।

संघका व्यवस्थापक दामोदर अधिकारीका अनुसार जिल्लामा सञ्चालनमा रहेका ११ डेरी उद्योगले किसानको ठूलो रकम अर्थात १४ करोड ३५ लाख ६३ हजार ४९० रोकेर राखेका छन् । किसानहरुले गत २०७८ देखिनै भुक्तानी लिन नपाएका हुन् । तीमध्ये शुभ डेरी इन्डस्ट्रिजले मात्रै करिब ६ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी छ भने गायत्री डेरी इन्डस्ट्रिजको बक्यौता करिब ४ करोड ४९ लाख ४४ हजार ८७३ रुपैयाँ रहेको छ । अन्य उद्योगहरूमा पनि लाखौँदेखि करोडौँसम्मको रकम रोकिएको तथ्यांकले देखाउँछ ।

अन्य उद्योगहरुमा स्यार्सेकालिका डेरीले एक करोड ६ लाख १६ हजार चार सय ६३ रुपैयाँ, कल्पवृक्ष डेरीले ६५ लाख ५७ हजार तीन सय ३६ रुपैयाँ, पवित्र मिल्क एन्ड फुड्स प्रालिले ४३ लाख ३१ हजार ४५ रुपैयाँ र एसके डेरी उद्योगले २५ लाख २८ हजार सात सय सात रुपैयाँ किसानलाई दिन बाँकी रहेको छ ।

यसैगरी, भुटनदेवी डेरी फर्मले २२ लाख ३३ हजार सात सय ७९ रुपैयाँ, अनुश्री सप्लायर्सले १९ लाख ७५ हजार नौ सय ९२ रुपैयाँ, कविता डेरी तथा जुस उद्योगले १२ लाख ४२ हजार पाँच सय ६६ रुपैयाँ, नारायणी मिल्क एन्ड फुड्सले ३२ हजार ६ सय १० रुपैयाँ र पिज्जा कटर प्रालिले सात लाख २३ हजार सात सय १९ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

दुधको रकम समयमै नपाउँदा किसानहरू दैनिक जीवनयापनमै समस्यामा परेका छन्। उत्पादन लागत बढ्दै जाँदा आम्दानी नहुँदा धेरै किसान ऋण लिन बाध्य भएका छन् भने केहीले पशुपालन व्यवसाय नै छाड्ने अवस्था आएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेल बताउछन् ।

उनका अनुसार मकवानपुरमा करिब ११ हजार किसान दुग्ध व्यवसायमा आबद्ध छन् ।

यसबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरले समस्यालाई गम्भीर रूपमा लिँदै उद्योगहरुलाई समयसीमा तोकेको छ ।

सोमबार भएको सर्वपक्षीय छलफलपछि असार मसान्तभित्र कम्तीमा ६५ प्रतिशत बक्यौता रकम भुक्तानी गर्न र बाँकी रकम असोज मसान्तसम्म पूर्ण रुपमा चुक्ता गर्न निर्देशन दिइएको हो ।

छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सहमति कार्यान्वयन नभए कानुनी कारबाही अघि बढाइने चेतावनी दिएका छन् । प्रशासनले किसानको हक सुनिश्चित गर्न कडाइका साथ अनुगमन गर्ने जनाएको छ ।

उद्योगीहरुले भने आफ्नो पक्षमा विभिन्न कारण देखाएका छन् । शुभ डेरी इन्डस्ट्रिजका प्रमुख ज्ञानराज लामाले अन्तर्राष्ट्रिय बजारको प्रभाव र उत्पादन चक्र लामो भएकाले भुक्तानीमा ढिलाइ भएको बताए ।

त्यस्तै, गायत्री डेरी इन्डस्ट्रिजका सञ्चालक सृजन कोइरालाले निरन्तरको व्यापार घाटा र लागत–मूल्य असन्तुलनका कारण समस्या आएको बताए ।

यद्यपी, किसान र उद्योगबीचको यो आर्थिक खाडल समयमै समाधान नभए दुग्ध उत्पादन क्षेत्रमा अझ ठूलो संकट आउने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

हेटौँडा बजारको सडक सीमाभित्र बनेका ५३१ घरटहरा भत्किने

मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका ५३१ घरटहरा...

मुअ थाईको दुनियाँ जित्दै गरेको नेपालको गौरव : सुरज ढकाल

सुरज ढकालको कथा एक प्रेरणादायक मार्शल आट्र्स गाथाजस्तै लाग्छ—चितवनको सानो सहरबाट अगाडि बढ्दै उनले केवल आफ्नो दृढ संकल्पको बलमा नेपालका सबैभन्दा सफल मुअ थाई...

संसदमा प्रशान्त उप्रेतीः हेटौंडा कपडा उद्योग सञ्चालन गर्न माग

मकवानपुर । रास्वपा सांसद प्रशान्त उप्रेतीले हेटौंडा कपडा उद्योग सञ्चालन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केही समय अगाडि गृहमन्त्रीले नेपाल...