विरामीहरुका लागि सामान्य बन्दैछ एचआईभी संक्रमण

मकवानपुर । कुनै समय समाजमा अत्यधिक डर, भ्रम र सामाजिक बहिष्कारसँग जोडिने एचआईभी संक्रमण अहिले विस्तारै सामान्य स्वास्थ्य अवस्थाको रुपमा स्वीकारिन थालिएको छ ।

आधुनिक उपचार पद्धति, जनचेतनाको वृद्धि र नियमित औषधि सेवनका कारण एचआईभी संक्रमित व्यक्तिहरु अहिले सामान्य जीवन बिताउन सक्षम बन्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

स्वास्थ्यकर्मीहरुका अनुसार अहिले धेरै संक्रमित व्यक्ति रोजगारी, पारिवारिक जिम्मेवारी र सामाजिक गतिविधिमा सक्रिय रुपमा सहभागी भइरहेका छन् । विशेषज्ञहरूका अनुसार समयमै परीक्षण गरी उपचार सुरु गरेमा एचआईभी संक्रमित व्यक्तिले अन्य मानिससरह सामान्य जीवन बिताउन सक्छन् ।

बागमती प्रदेशमा एचआईभी संक्रमण दर अघिल्ला वर्षहरुको तुलनामा घट्दो क्रममा देखिएको छ । तर संक्रमण नियन्त्रण, परीक्षणको पहुँच विस्तार र संक्रमितलाई निरन्तर उपचारमा राख्ने चुनौती अझै कायम रहेको सरोकारवालाहरुले बताएका छन् ।

स्वास्थ्य निर्देशनालय, हेटौंडाले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा हाल अनुमानित ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेका छन् । वयस्क जनसंख्यामा संक्रमण दर ९.१३ प्रतिशत छ भने दैनिक औसत १.७ प्रतिशत व्यक्ति एचआईभीबाट संक्रमित हुने गरेका छन् ।

बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा ८८३ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या आर्थिक वर्ष २०८०/८१ मा घटेर २०८ मा झरेको थियो । यद्यपी, हालसम्म प्रदेशमा ७२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण दर घट्दै गएको देखिए पनि सामाजिक व्यवहार, परीक्षणमा ढिलाइ, उपचारमा लापरवाहि तथा दुर्गम क्षेत्रमा सेवा पहुँचको कमीले एचआईभी नियन्त्रण अभियानलाई अझै कठिन बनाइरहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

प्रदेशभर हाल १८ वटा (एआरटी) सेवा केन्द्र, ६ वटा (ओएसटी) सेवा केन्द्र तथा काठमाडौं र चितवनमा दुई वटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा छन् । मकवानपुरमा पनि एक एआरटी केन्द्र र एक ईआईडी संकलन केन्द्र सञ्चालनमा रहेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा स्वास्थ्य नीति ‘९५–९५–९५’ लक्ष्य हाँसिल गर्ने अभियान जारी छ । यो लक्ष्यअनुसार संक्रमितमध्ये ९५ प्रतिशतले आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुपर्ने, थाहा पाएका ९५ प्रतिशत उपचारमा आबद्ध हुनुपर्ने र उपचारमा रहेका ९५ प्रतिशतको भाइरल लोड नियन्त्रणमा आउनुपर्ने व्यवस्था छ ।

तर बागमती प्रदेशमा अनुमानित ८ हजार ३२८ संक्रमितमध्ये ७ हजार १७४ जनाले मात्रै आफ्नो अवस्था थाहा पाएका छन् । संक्रमितमध्ये ७ हजार १०४ जना उपचार सेवामा आबद्ध छन् भने ६ हजार ७० जनामा भाइरल लोड दबिएको अवस्था रहेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा आमाबाट बच्चामा संक्रमण रोकथाम (पीएमटिसीटि) सेवा अन्तर्गत वाग्मती प्रदेशमा १ लाख १९ हजार ६१७ जनालाई परामर्श सेवा दिइएको थियो । तीमध्ये ९४ हजार ९९२ जनामा परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

मकवानपुरमा मात्रै ७ हजार ६९८ जनालाई परामर्श सेवा प्रदान गरिएको थियो भने ६ हजार ३७ जनामा परीक्षण गरिएको थियो । जिल्लामा दुई जना गर्भवती महिलामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, एचआईभी परीक्षण तथा परामर्श (एचटिसि) सेवा अन्तर्गत चालु आर्थिक वर्षमा बागमती प्रदेशभर २१ हजार २२९ जनामा परीक्षण गर्दा ७२७ जनामा संक्रमण पुष्टि भएको छ । मकवानपुरमा ९ हजार ५५९ जनामा परीक्षण गर्दा गर्भवती महिलासहित ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैबीच, स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशको आयोजना तथा एएचएफ को सहयोगमा सोमबार हेटौंडामा सञ्चारकर्मीहरुका लागि एचआईभी सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा मकवानपुरमा क्रियाशील सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरी सापकोटाले एचआईभी सम्बन्धी विषयमा सञ्चारकर्मीलाई जानकारी गराउँदै जिम्मेवार र संवेदनशील समाचार सम्प्रेषणको आवश्यकता औँल्याउनुभएको छ ।

उहाँका अनुसार एएचएफ विश्वकै ठूलो एचआईभी तथा एड्स स्वास्थ्य सेवा प्रदान गर्ने संस्था हो, जसले हाल ५० देशमा ३० लाखभन्दा बढी मानिसलाई सेवा दिइरहेको छ । नेपालमा सन् २००८ मा स्थापना भएको एएचएफ नेपालले सन् २००९ देखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मार्फत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रसँग सहकार्य गर्दै सेवा सुरु गरेको हो ।

‘आर्थिक क्षमता नभएका व्यक्तिलाई समेत आधुनिक उपचार र सहयोग’ भन्ने उद्देश्यसहित संस्थाले एचआईभी संक्रमितलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका जनस्वास्थ्य प्रशासक सञ्जु राइले प्रदेशको एचआईभी अवस्थाबारे तथ्यांक प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार बागमती प्रदेशमा करिब ७ हजार ४ सय मानिसमा एचआईभी संक्रमण पुष्टि भएको छ ।

तराईका सीमा क्षेत्र, काठमाडौं र पोखरा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका रुपमा चिनिएका छन् ।
निर्देशनालयले हाल लागूऔषध प्रयोगकर्ताका लागि प्रतिस्थापन उपचार सेवा, एचआईभी परीक्षण तथा परामर्श सेवा सञ्चालन गरिरहेको जनाएको छ ।

सन् २०२६ सम्म ‘९५–९५–९५’ लक्ष्य हाँसिल गर्ने योजना रहे पनि हाल बागमती प्रदेशका ८६ प्रतिशत संक्रमितले मात्रै आफ्नो स्वास्थ्य अवस्था थाहा पाएका छन् । संक्रमितमध्ये ९७ प्रतिशत नियमित उपचारमा आबद्ध छन् भने उपचारमा रहेका ८५ प्रतिशतको शरीरमा संक्रमणको असर नियन्त्रणमा आएको तथ्यांक प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

थपिए तीन हजार बढी मतदाता

मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मतदाता नामावली संकलन भइरहँदा मकवानपुरमा पनि उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढिरहेको छ । गत असोज ९...

हेटौंडा उपमहानगरको निर्णयः प्रभावितका लागि सहुलियतपूर्ण ऋण, कर छुट र आवास व्यवस्थापन

मकवानपुर  । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्र हुँदै जाने महेन्द्र राजमार्गको दायाँ–बायाँ सडक विस्तारका कारण प्रभावित घरधनी र व्यवसायीलाई राहत तथा सहजीकरण गर्ने निर्णय गरेको...

सुशासन र उपलब्धिमूलक खर्चप्रति प्रदेश सरकार केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सुशासन र उपलब्धिमूलक खर्चप्रति जोड दिनुभएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा बसेको बागमती प्रदेश सरकारको...