मकवानपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत हेटौंडा–६ स्थित नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयमा आइतबार पुरानो प्रश्नपत्र वितरण भएपछि परीक्षा रद्द गरिएको छ ।
केन्द्राध्यक्ष र बाह्य सहायकको लापरवाहीका कारण पुरानो प्रश्नपत्र परीक्षार्थीलाई वितरण गरिएको भन्दै सो दिनका सबै परीक्षा रद्द गरिएको हो ।
विद्यार्थीले तोकिएको समय पूरा गरी परीक्षा केन्द्रबाट बाहिर निस्किसकेपछि मात्र परीक्षा रद्द गरिएको जानकारी पाएपछि उनीहरू आक्रोशित बनेका थिए ।“परीक्षा सकिएर बाहिर निस्किसकेपछि मात्र रद्द गरिएको जानकारी पायौ,” परीक्षार्थीहरूले भने, “एउटै परीक्षा कतिपटक दिने?” उनीहरूले आफूहरूले दिएको परीक्षालाई मान्यता दिनुपर्ने माग राख्दै परीक्षा केन्द्र परिसरमै नाराबाजीसहित प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले परीक्षा सूचनासमेत ढिलो दिइएको र व्यवस्थापन सम्पूर्ण रूपमा कमजोर रहेको आरोप लगाएका छन् ।
घटनाबारे केन्द्राध्यक्ष भुवनेश्वर रञ्जितकार र बाह्य सुपरिवेक्षक शंकर खतिवडामाथि छानबिन भइरहेको सीटीईभीटी हेटौँडा प्रदेश कार्यालयका प्रमुख हर्कलाल श्रेष्ठले जानकारी दिनुभयो ।
पुरानो प्रश्नपत्र वितरण भएपछि फिजियोथेरापी अन्तर्गत बीएबिएल साइन्स, एचएको इनभाइरमेन्टल हेल्थ, प्लान्ट साइन्सको इन्ट्रोडक्टरी एनिमल हज्बेन्ड्री, प्रि–डिप्लोमा जेटिए एपिसरी कल्चर तथा भेटनरी गरी विभिन्न विषयका परीक्षा रद्द गरिएका छन् । यी विषयहरूमा ७९ जना परीक्षार्थी सहभागी थिए ।
यसअघि जेनजी आन्दोलनका कारण उत्तरपुस्तिाका जलेपछि सीटीईभीटीले आइतबारबाट पुनः परीक्षा संचालन गर्न लागेको हो ।




