घरजग्गा कारोबार नीतिगत् समस्याका कारण अझै दबाबमा

माधब न्यौपाने
हेटौंडा/अर्थतन्त्र चलायमान बनाउने मुख्य व्यवसायका रुपमा रहेको घरजग्गा कारोबारमा विभिन्न नीतिगत् समस्याका कारण अझै पनि दबाब कायम छ । सरकारलाई राजस्व संकलनदेखि आर्थिक गतिविधि बढाउने व्यवसाय अझै शिथिल अवस्थामा छ ।

कोभिडपछि थला परेको व्यवसाय उकास्न सरकारले केही पहल गरे पनि त्योमात्र पर्याप्त देखिएको छैन । त्यसकारण, नीतिगत् र व्यवहारिक सुधार गर्नुपर्ने खाँचो रहेको व्यवसायीको भनाइ छ । सुस्ताएको घरजग्गा कारोबारमा पछिल्लो समय केही सुधार देखिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार २०८२ बैशाख मसान्तसम्म बैंक वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा दुई खर्ब ८१ अर्ब ५५ करोड ९० लाख कर्जाप्रवाह गरेका छन्‌ ।

समग्रमा घरजग्गा कारोबारमा देखिएको समस्या के हो, आगामी मौद्रिक नीतिमा घरजग्गा व्यवसायीले राखेका अपेक्षा र सुधार गरिनुपर्ने पक्ष केके हुन् भनेर हेटौंडा सन्देशले नेपाल जग्गा तथा आवास विकास महासंघ अध्यक्ष हेटौंडाका युवा विष्णु घिमिरेलाई सोधेको छ । अध्यक्ष घिमिरेको धारणा छ–घरजग्गा कारोबार सुस्ताउनु पछाडिको त्यस्तो विधि ठूला कारण पनि छैनन् र हाम्रा माग त्यति विधि ठूला र सरकारले सम्बोधन गर्नै नसक्ने गरी कष्टप्रद पनि छैनन् । हाम्रो माग र समस्याका विषयमा हामीले केही समयअगाडि गभर्नरलाई भेटेर पनि आएका छांै । ससाना समस्या त धेरै छन् । तर, मुख्यरुपमा हामीले विश्लेषण गरेका तीन वटा छन् । त्यसमध्येको पहिलो पूर्ण तालिकीकरण गर्नुपर्ने हो । जुन विषय बजेटमा पनि समेटिएको छ ।

दोस्रो भनेको लोनको रेसियो हो । हाल लोनको रेसियो ५० प्रतिशत् छ । त्यसलाई ८० प्रतिशत् पुर्‍याउनुपर्छ भन्ने हाम्रो माग हो । तेस्रो चाहिं बैंकसँग पैसा हुँदा पनि कर्जाप्रवाह हुन सकेको छैन । आयस्रोतको सीमा धेरै भयो । बैंकले तीन करोडसम्मको ऋणलाई सहुलियत गर्नुपर्छ । कर्मचारीको तलबको पैसा र व्यवसायीले कर तिरेको पैसाबाहेक आय के देखाउने भनेर प्रश्न उठिरहेको छ ।

‘कृषिप्रधान देश छ । कृषकले गाई, बाख्रा, कुखुरा, अन्नपात आदि बेचेर आम्दानी गर्नुहुन्छ । त्यसलाई पनि आम्दानी मान्नुपर्छ भन्ने हाम्रो कुरा हो । कर तिरेको रकमलाई मात्र आय नमानेर अन्य स्रोतबाट हुने कमाइलाई पनि आम्दानी मान्नुपर्छ भन्ने हाम्रो माग छ । यसलाई सरकारले सम्बोधन गर्नुपर्छ भन्ने हामी चाहन्छौं,’ उनले भने–भवन एकीकरणसम्बन्धि कानुन अभाव छ । नीतिगत् कुराका लागि पहल गरिरहेका छौं । शहरी र भूमिसुधार मन्त्रालयसँग छलफल गरेका छौं । हुन्छहुन्छ भन्नुभएको छ । तर, सरकारी काम एकदम ढिलो हुने । सल्लाह र सुझाव दिएका छौं । ल्याउन खोजिएको छ । ढिलो भइराखेको छ । किन यति ढिलो भएको हामी अचम्मित छौं । तर, सरकारसँग हामीलाई दिने चित्तबुझ्दो जवाफ छैन ।

‘कर्जा आम्दानीको अनुपात कम छ । अस्वभाविकरुपमा महंगो छ । करको दायरा वृद्धि पनि उस्तै बढेको छ । अनुपात त सच्याउनैपर्छ । उदाहरणका लागि हेरौं, नेपालमा माथिल्लो स्तरको सचिवले धेरै कमायो भने कति कमाउँछ ? तलब त त्यही ७५ हजार हुन्छ । त्यसको ७० प्रतिशत्‌लाई इन्कम मान्ने भनेको छ । त्यसरी त मासिक ५० हजारलाई आय मान्ने हो भने त्यस कमाइले सचिवस्तरको व्यक्तिले कसरी घर किन्न सक्ला ? दुई करोडको घर किनिरहँदा १ करोड बैंकबाट ऋण लिन्छु भन्दा पनि आम्दानीले पुग्दैन । नेपालको माथिल्लो तहको सचिवले घर किन्छु भन्दा किन्न सक्दैन । त्यही भएर ऋणको अनुपात सच्याउनुपर्छ । पारदर्शी हिसाबमा गर्नुपर्छ ।

अर्को महत्वका रुपमा हेरिनुपर्ने विषयवस्तु भनेको सरकार आफैंले जग्गा किनबेचको काममा सहयोग गर्नुपर्छ । न्यूनतम् रेट बुलिङ गरौं । सरकारको निकायले गर्दा राम्रो हुन्छ । मिलेर गर्दा सस्तो पनि पर्छ भनेर हामीले निरन्तर भनिरहेका छांै । कम्पनीमा गएर घरजग्गा किन्दा महंगो हुन्छ । किन्दा नै महंगो पर्छ । मर्मतदेखि सबै बाटोघाटो, नाला, बिजुली र पानी जोड्दा महंगो पर्छ । सरकारले केही सहयोग गरेको छैन । स्थानीय तहदेखि कर तिर्नुपर्छ ।

यसलाई अझ सजिलोसँग बुझाउँदा जिल्लाको कुनै स्थानीय तहलाई हेर्नुभयो भने एक आना जमिन सम्याउन १५ हजार रुपियाँ कर तिर्नुपर्छ । टुक्रा गरेर सम्याउँदा फेरि तिर्नुपर्छ । दुई पटक सम्याउनु पर्दा तीस हजार त कर तिर्दा नै सकिन्छ । कर पनि जथाभावी छन् । पालिकाअनुसार कर हुन्छ । मालपोत र नापीमा अर्को कर हुन्छ । शहरी विकासको अर्को कर छ । करले मात्र गर्दा जग्गाको मूल्य बढिराखेको हुन्छ ।

‘एकद्वारमा आउँदा सजिलो हुन्थ्यो । कर एक ठाउँमा मात्र तिर्न पाए सजिलो हुने थियो । ढिलाइ पनि हुने थिएन । क्रेतालाई अप्ठेरो भइराखेको छ अहिले । सरकारले जग्गा एकीकरण गरेर निजी क्षेत्रलाई डेभलप गर्न दिनुपर्छ । त्यसरी सबैलाई सजिलो हुन्थ्यो । यस विषयमा हामीले पटकपटक भन्दै आएका छौं, उनले सुझाए ।

सरकारी मूल्यांकन र खरिदबिक्री फरक छ । कागतमा एक थोक, सत्यतामा अर्को । सरकारले २ वा ३ लाख मूल्यांकन गरेको ठाउँमा त्यस भन्दा दशौं गुणा बढी मूल्यमा जग्गा कारोबार भइराखेको हुन्छ । त्यसलाई समानुपातिक गरौं भनेर भनिराखेका छौं । जिल्ला प्रशासन कार्यालय, स्थानीय पालिका, मालपोत, नापी र अन्य सरोकारवाला बसेर मूल्यांकन गरिन्छ । किनबेच गर्ने मूल्य नै त्यति बेला निर्धारण गरिदिँदा राम्रो हुन्थ्यो भन्ने हाम्रो सोचाइ हो ।

राजस्व पनि त्यही बेला तोकिदिए हुन्थ्यो । हाल त कारोबार गर्ने सबैलाई समस्या छ । कारोबार एउटा रकममा हुन्छ । पास एउटा मूल्यमा हुन्छ तर जग्गाको मूल्यांकन त्यो भन्दा कम रहेको हुन्छ । अनि, कारोबार मूल्यमा एउटा अन्तर देखिन्छ । कालो धन हो कि भन्ने शंका उत्पन्न हुन आउने गरेको छ । हामीले मालपोत कार्यालय, कानुन मन्त्रालय, भूमिसुधार मन्त्रालय, शहरी विकास मन्त्रालय र अर्थ मन्त्रालयमा लिखितरुपमा आफ्‌ना मागहरु राखिसकेका छौं । यसकारण यी तमाम समस्यालाई ध्यानमा राखेर आगामी मौद्रिक नीतिमा यी कुरा सम्बोधन हुनुपर्छ र घरजग्गा व्यवसायीको समस्यालाई मध्यनजर गरिनुपर्छ भन्ने हाम्रो माग र आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

स्थापना दिवसमा विद्यालयलाई विविध सामग्री

हेटौंडा/औषधी व्यवसायी संघ मकवानपुरले स्थापना दिवसका अवसरमा हेटौंडा–११ स्थित शंकरज्योति माविलाई विविध सामग्रीहरु हस्तान्तरण गरेको छ । कार्यक्रम संघ अध्यक्ष नारायणलाल श्रेष्ठले केक काटेर उद्घाटन...

पालिकामा पहिलो पटक अस्पताल सञ्चालनमा, स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको कैलाश गाउँपालिकामा निर्माण गरिएको ‘विपि स्मृति कैलाश आधारभूत अस्पताल’ को उद्घाटन गरेका छन् । संघीय सरकारको ६ करोड...

बागमती प्रदेशमा पुँजीगततर्फको ६ अर्ब बढी बजेट कटौती

मकवानपुर । बागमती प्रदेश सरकारले जेनजी आन्दोलन र विपद्बाट क्षति पुगेका संरचना पुनः निर्माण तथा व्यवस्थापनका लागि पुँजीगत तर्फको बजेट कटौती गरेको छ ।...