मकवानपुर । आफ्ना स्मृतिहरुलाई केलाउँदा उनको मष्तिकमा कलिलि ‘अप्सरा’ चलबलाउँछ ।
उमेरले १० वटा बसन्त मात्र पार गरेको थियो । खेल्ने, पढ्ने, रमाउने त्यो कलिला बाल्यावस्थाले आमाको सहारा छोड्न पटक्कै मानेको भए पो! ती अबोध मष्तिस्कले ठुलो जिम्मेवारी बहन गर्न आँट गरेको भए पो !
यद्यपी, जीवनमा आकस्मात आइलाग्ने परिस्थितिका कारण नत उमेरले त सानो छस् भन्छ, न जिम्मेवारीहरुले आफूलाई पन्छाउँछ ।
उनी त्यतिबेला कक्षा ५ मा पढ्थिन । तत्कालीन माटि गा.वि.स दोलखाको बिसुनटोलमा बुवा नारायण बस्नेत र आमा भक्त कुमारी बस्नेतकी जेठी छोरीको रुपमा जन्मिएकी अप्सरा बस्नेतले साउनेपानी विद्यालयमा कक्षा ५ उर्तीण गरिन ।
कक्षा ६ मा भर्ना हुनका लागि घरदेखि १ घण्टाको दुरीमा रहेको माटी विद्यालय पुग्नुपर्थ्यो । ५१ सालको मांघ महिना । आमा भक्त कुमारीले कान्छी बहिनी अनुष्का लाई जन्म दिइन् । चार दिने सुत्केरी आमाको प्रेसर अत्याधिक हाइ भएपछि उनी बेहोस भइन् । गाउँमा धामी झाँक्री गरी आमालाई होसमा ल्याउन खोजियो तर आमा होसमा आइनन् । त्यतिबेला बुवा आर्मीका सीपाहि थिए । आमा विरामी भएको कुरा बुवाले चिठि हातमा परेपछि मात्र थाहा पाए । बुवाले तत्काल आमालाई काठमाडौं लगेर आर्मी अस्पताल भर्ना गराए । करिब १ महिना पछि ‘आइसीयू’मा राखिएको आमाको होस आयो ।
उनले यी दिनहरुमा विद्यालय जान पाइनन् । आफू भन्दा साना तीन बहिनीहरुको हेरचाह गरिन् । एक महिना पनि नपुगेकी कान्छी बहिनी अनुष्काको स्याहार गरिन् । कति पटक गाउँकै सुत्केरी आमाकहाँ दुध खुवाउन लिएर जाँदा कान्ला बाट पछारिन् कान्छी बहिनी अनुष्कालाई ।
आमा अस्पाताल भर्ना हुँदा घाँस काट्न गइन । भात पकाइन् । बहिनीहरुका लुगा धोइदिइन् । कुरुवा कोहि नभएपछि आमालाई स्याहार गर्न हस्पिटल बसिन । आमाको सात महिना हस्पिटलको बसाईमा उनलाई औषधी खुवाउने, लुगा लगाइदिने , कपाल कोर्ने आफैलेै गरिन् । किनकी आमा भक्त कुमारी अरुको सहारा बिना १ पाइला पनि हिड्न नसक्ने भएकी थिइन् ।
अस्पतालले आमालाई करिब सात महिनापछि घर लग्न सुझाएपछि उनले आमालाई दोलखा लगिन् । तर त्यतिबेलापनि आमा पूर्ण ठिक नभइसकेकाले उनलेनै घरको सबै धन्दा सम्हाल्नुपर्ने थियो ।
२०५२ साल माघमा बुवा नारायणले परिवार लाई लिएर हेटौंडा बसाइसरेर आएको बस्नेत सुनाउछिन् ।
यहाँ आएपछि बालज्योति मावि पिप्लेमा कक्षा छ मा भर्ना भएकी बस्नेतले कक्षा १ मा पढेका क, ख, ग, घ समेत छुट्याउन बिर्सिसकेकी रहिछन् । जसकारण उनी कक्षाका साथीहरुको अगाडि नजान्ने , बोल्न डराउने साथीको रुपमा परिचित भइन् ।
आमा र भाई बहिनीहरुकै स्याहारमा पिल्सिएकी बस्नेतलाई नत कापी किताब हेर्ने फुर्सद थियो नत चटक्क परेर विद्यालय जाने मौका मिल्यो । त्यसोत, कक्षा ८ देखि आफू पढाइमा अब्बल हुँदै गएको र आमाको स्वास्थ्य अवस्था सुध्रिदै गएकाले आफ्ना लागि समय दिन सक्ने भएकी थिइन् उनी ।
त्यसोत, यतिबेला उनी भाई अनमोलको पनि धनी भइसकेकी थिइन् । चार वटी छोरीलाई जन्म दिएर अनगिन्ती अपहेलना सहेकी भक्तकुमारीले उ बेलाको इख फेर्नकै लागि पनि शारीरिक अस्वस्थाताकै बीचमा छोरा अनमोललाई जन्म दिएकी हुन् ।
गाउँमा उनले छोरा जन्माउन नसक्नुकै कारणले आफन्तीहरुको मुखबाट कैयौं तुच्छ प्रहार खेपेकी थिइन् । अहिले तिनै आफन्तीले भक्तकुमारीको भाग्यशाली जीवनको गुनगान गाउँदा बस्नेतको मानसपटलमा ती पुराना दिनहरु ताजा भएर आउने गर्छन् ।
२०५८ सालमा उनले कक्षा १० उर्तीण गरिन् । म्यानेजमेन्टमा प्लस टू सकिन । मकवानपुर बहुमुखी क्याम्पसमा बीबीएस उर्तीण गरिन । बस्नेतले २०६३ सालमा हेटौंडाका ज्ञानेन्द्र शाहसँग विवाह गरिन् । श्रीमान ज्ञानेन्द्र सँगै काठमाडौंको अनामनगरमा डेरा गरी बस्नेक्रममा फर्निसिङ्ग पसलमा २२ सय रुपैँया तलबमा अल राउण्डर भएर जागिर खाइन् ।
काठमाडौं जस्तो ठाउँमा डेरा गरी बस्न र खान उनीहरुलाई त्यति सहज थिएन । फेरि संघर्षको अर्काे मैदानमा उत्रिएकी बस्नेतले २०६५ सालमा अनामनगरस्थित एसिएन पब्लिक स्कुलमा ४२ सय रुपैँयामा जागिर खाइन् । श्रीमान ज्ञानेन्द्र विदेशीए ।
सोहि दौरानमा बस्नेतले न्याय कर्ममा पुग्ने अवसर पाइन् । उनले श्रीमानको सल्लाह बमोजिम ‘एलएलबी’ कक्षा जोइन गर्ने भइन् । यता स्कुलमा जागिर खादै गरेकी उनलाई विहान कलेज र दिउँसो स्कुलमा जागिर खाने समय मिलाउन निकै सकस थियो ।
नेपाल ल क्याम्पसमा एलएलबी पहिलो वर्षको नतीजा आयो । सात विषय मध्ये दुईवटा विषयमा ‘एफ’ लेखिएको थियो । स्कुलदेखि स्नातकोत्तर सम्म उर्तीण नतिजाको मार्कसिट समाएकी बस्नेतलाई ‘एफ’ को अर्थ बुझ्न दुई दिन लाग्यो । उनी आफ्नो हितेसी दाजु गुणराज कहाँ गइन् र सोधिन “ गुणराज दाई । यो एफ भनेको के हो? मैले त बुझिन् ! त्यतिबेला गुणराज मुर्छा परेर हाँस्दै भनेका थिए । लाटी ! ‘एफ’ भनेको फेल हो । त्यसपछि लाजले रातोपिरो भएर त्यहाँबाट निस्किएको उनी सुनाउँछिन् ” ।
२०६८ सालमा ‘एलएलबी’ उर्तीण गरि २०६९ मा पहिलो सन्तान छोरीको आमा भइन् बस्नेत । उनले २०७० सालमा ‘एलएलबी’ को लाइसेन्स हात पारिन् । एकातिर सन्तानलाई एक्लै छोड्नुको पिर, अर्कातिर सपनासहितको कानुन पासको लाइसेन्स । दिमाख र मन बीचको अन्तरद्वन्द चलिरहँदा उनी सर्वाेच्च अदालत पुगिन ।
जिल्ला बारमा पुग्दा उनले एक न्याय क्षेत्रमा काम गर्ने महिलालाई भेटिन । तर उनले अपेक्षा ठिक उल्टो भयो । उनी सुनाउँछिन्‘ मलाई उहाँले यो क्षेत्र महिलाको लागि होइन भन्नुभयो । यहाँ हेरेसमेन्ट हुन्छ, यहाँ टिक्न निकै गाह्रो छ भन्नुभयो । फेरि म हतोत्साहित भएर घर फर्किए । बेलुकी फोनमा श्रीमानलाई सबै कुरा सुनाए र श्रीमानले ती सबैकुरा त आफु गुनापो हुन्छ त । अब यी सबै कुरा सोचेर पछि पर्ने होइन भन्दै मलाई सम्झाउनु भयो ।” यसरी आफू सफल हुनुमा श्रीमान ज्ञानेन्द्रको पूर्ण हात रहेको कुरा प्रफुल्लित मुहारमा सुनाउछिन् , बस्नेत ।
त्योत २०७१ सालमा छोरी लिएर हेटौंडा झरेकी उनले छोरी शितल लाई माइतीमा राख्ने निधो गरिन् र आफूले बहस प्रयाक्टिस गर्न थालिन । ल फर्ममा जागिर खादै गरेकी उनले पहिलो मुद्धा लड्नमै सफलता हात पारेकी थिइन् । मुद्धा सफल भएपछि उनलाई ती महिलाले अंकमाल गर्दै भनेकी थिइन् “थ्याङ्क यू मेडम । हजुरले मेरो मुद्धा हेरेर सफल नभएको भए म आज मर्न बाँध्य हुनेथिए ।
जिल्ला कानुनी सहायता समितिमा ६ महिनाको करारमा जागिर खाएकी बस्नेतले कैयौं मुद्धा हेर्ने र बहस गर्ने मौका पाइन् । जुनकुरालाई उनले अवसरको रुपमा स्वीकारेकी छन् । यी दिनहरुमा आफ्नो कर्मले थुप्रै पुण्य कमाएको उनलाई महशुस भएका छन् । वृद्ध आमाले अङ्कमाल गर्दै आशिष दिएका क्षण होस या, उनको साहाराले पीडितले नयाँ जीवन पाएकोे क्षण सम्झिदा उनी अझैपनि भावुक हुन्छिन् ।
जिल्ला बार एशोसियसन मकवानपुरमा २०७५ सालमा अध्यक्ष पदमा लडेकी बस्नेत अर्का आकांक्षी ईश्वर अधिकारीसँग पराजित भएकी थिइन् । त्यसलगतै दोस्रो सन्तानकी आमा भएकी बस्नेत दुई वर्ष निष्क्रिय रहिन् । २०७९ सालमा पुनः अध्यक्षमानै लडेकी उनले यसपटक भने जीत हाँसिल गरिन र दुई वर्षीय कार्यकाल जिल्ला जिल्ला बार एशोसियसन मकवानपुरको अध्यक्ष भएर जिम्मेवारी वहन गरिन् ।
१२ वर्ष न्याय क्षेत्रमा बहस गर्दै भरपुर अनुभव समेटेकी बस्नेतले कैयौं सर्घषका मैदानहरु पार गरि अन्ततः देशमै पहिलो पटक प्रथम महिला मुख्य न्यायाधिवक्ताको जिम्मेवारी पाएकी छन् ।
बागमती प्रदेशकी नवनियुक्त मुख्य न्यायाधिवक्ता बस्नेतले गत मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरिन् । उनलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानूनी सल्लाहकार रहने व्यवस्था रहेको छ । अब उनको जिम्मेवारी थपिएको छ । प्रदेश सरकारलाई कानूनी विषयमा राय, सल्लाह र निर्देशन प्रदान गर्नुका साथै, प्रदेश सरकारको तर्फबाट अदालतमा उपस्थित भई प्रदेशको प्रतिनिधित्व गर्ने जिम्मेवारीसमेत मुख्य न्यायाधिवक्ताको रहनेछ ।
मुख्य न्यायाधिवक्ता बस्नेतले हालसम्म जिल्ला अदालत मकवानपुरमा दुई हजार बढी र उच्च अदालत पाटनमा ६ सय थान बढी मुद्धामाथि बहस गरेकी छन् । जसमा उनले ९६ प्रतिशत मुद्धा सफल गराएकी छन् ।
महिला भएकै कारण कुनै अप्ठ्यारा चुनौती सामना गर्नु नपरेकी बस्नेतलाई हरेक महिलाले आफ्नो क्षमतामाथि विश्वास राखे सफल भइन्छ भन्ने महशुस भएको छ । उनको भेट फरक विचारधाराका व्यक्तिहरुसँग कैयौंपटक भए ।
उनको क्षमतामाथि पटकपटक खोट निकाल्न चाहने पुरुष सहकर्मीहरुलाई जवाफले नभई क्षमताको झटारो हानिन् । उनले यो बीचमा सत्कर्म र लगावले कुनै लिङ्ग या वर्ग नभई केबल व्यक्ति सफल हुन्छ भन्ने परिभाषा प्रमाणित गरिन् । उनी मात्र न्यायको पक्षमा वकालित गर्छिन् ।




