एलएलबी ब्याक पेपर देखि प्रथम महिला मुख्य न्यायाधिवक्ता सम्मको संघर्ष

मकवानपुर । आफ्ना स्मृतिहरुलाई केलाउँदा उनको मष्तिकमा कलिलि ‘अप्सरा’ चलबलाउँछ ।

उमेरले १० वटा बसन्त मात्र पार गरेको थियो । खेल्ने, पढ्ने, रमाउने त्यो कलिला बाल्यावस्थाले आमाको सहारा छोड्न पटक्कै मानेको भए पो! ती अबोध मष्तिस्कले ठुलो जिम्मेवारी बहन गर्न आँट गरेको भए पो !

यद्यपी, जीवनमा आकस्मात आइलाग्ने परिस्थितिका कारण नत उमेरले त सानो छस् भन्छ, न जिम्मेवारीहरुले आफूलाई पन्छाउँछ ।

उनी त्यतिबेला कक्षा ५ मा पढ्थिन । तत्कालीन माटि गा.वि.स दोलखाको बिसुनटोलमा बुवा नारायण बस्नेत र आमा भक्त कुमारी बस्नेतकी जेठी छोरीको रुपमा जन्मिएकी अप्सरा बस्नेतले साउनेपानी विद्यालयमा कक्षा ५ उर्तीण गरिन ।

कक्षा ६ मा भर्ना हुनका लागि घरदेखि १ घण्टाको दुरीमा रहेको माटी विद्यालय पुग्नुपर्थ्यो । ५१ सालको मांघ महिना । आमा भक्त कुमारीले कान्छी बहिनी अनुष्का लाई जन्म दिइन् । चार दिने सुत्केरी आमाको प्रेसर अत्याधिक हाइ भएपछि उनी बेहोस भइन् । गाउँमा धामी झाँक्री गरी आमालाई होसमा ल्याउन खोजियो तर आमा होसमा आइनन् । त्यतिबेला बुवा आर्मीका सीपाहि थिए । आमा विरामी भएको कुरा बुवाले चिठि हातमा परेपछि मात्र थाहा पाए । बुवाले तत्काल आमालाई काठमाडौं लगेर आर्मी अस्पताल भर्ना गराए । करिब १ महिना पछि ‘आइसीयू’मा राखिएको आमाको होस आयो ।

उनले यी दिनहरुमा विद्यालय जान पाइनन् । आफू भन्दा साना तीन बहिनीहरुको हेरचाह गरिन् । एक महिना पनि नपुगेकी कान्छी बहिनी अनुष्काको स्याहार गरिन् । कति पटक गाउँकै सुत्केरी आमाकहाँ दुध खुवाउन लिएर जाँदा कान्ला बाट पछारिन् कान्छी बहिनी अनुष्कालाई ।

आमा अस्पाताल भर्ना हुँदा घाँस काट्न गइन । भात पकाइन् । बहिनीहरुका लुगा धोइदिइन् । कुरुवा कोहि नभएपछि आमालाई स्याहार गर्न हस्पिटल बसिन । आमाको सात महिना हस्पिटलको बसाईमा उनलाई औषधी खुवाउने, लुगा लगाइदिने , कपाल कोर्ने आफैलेै गरिन् । किनकी आमा भक्त कुमारी अरुको सहारा बिना १ पाइला पनि हिड्न नसक्ने भएकी थिइन् ।

अस्पतालले आमालाई करिब सात महिनापछि घर लग्न सुझाएपछि उनले आमालाई दोलखा लगिन् । तर त्यतिबेलापनि आमा पूर्ण ठिक नभइसकेकाले उनलेनै घरको सबै धन्दा सम्हाल्नुपर्ने थियो ।

२०५२ साल माघमा बुवा नारायणले परिवार लाई लिएर हेटौंडा बसाइसरेर आएको बस्नेत सुनाउछिन् ।
यहाँ आएपछि बालज्योति मावि पिप्लेमा कक्षा छ मा भर्ना भएकी बस्नेतले कक्षा १ मा पढेका क, ख, ग, घ समेत छुट्याउन बिर्सिसकेकी रहिछन् । जसकारण उनी कक्षाका साथीहरुको अगाडि नजान्ने , बोल्न डराउने साथीको रुपमा परिचित भइन् ।

आमा र भाई बहिनीहरुकै स्याहारमा पिल्सिएकी बस्नेतलाई नत कापी किताब हेर्ने फुर्सद थियो नत चटक्क परेर विद्यालय जाने मौका मिल्यो । त्यसोत, कक्षा ८ देखि आफू पढाइमा अब्बल हुँदै गएको र आमाको स्वास्थ्य अवस्था सुध्रिदै गएकाले आफ्ना लागि समय दिन सक्ने भएकी थिइन् उनी ।

त्यसोत, यतिबेला उनी भाई अनमोलको पनि धनी भइसकेकी थिइन् । चार वटी छोरीलाई जन्म दिएर अनगिन्ती अपहेलना सहेकी भक्तकुमारीले उ बेलाको इख फेर्नकै लागि पनि शारीरिक अस्वस्थाताकै बीचमा छोरा अनमोललाई जन्म दिएकी हुन् ।
गाउँमा उनले छोरा जन्माउन नसक्नुकै कारणले आफन्तीहरुको मुखबाट कैयौं तुच्छ प्रहार खेपेकी थिइन् । अहिले तिनै आफन्तीले भक्तकुमारीको भाग्यशाली जीवनको गुनगान गाउँदा बस्नेतको मानसपटलमा ती पुराना दिनहरु ताजा भएर आउने गर्छन् ।

२०५८ सालमा उनले कक्षा १० उर्तीण गरिन् । म्यानेजमेन्टमा प्लस टू सकिन । मकवानपुर बहुमुखी क्याम्पसमा बीबीएस उर्तीण गरिन । बस्नेतले २०६३ सालमा हेटौंडाका ज्ञानेन्द्र शाहसँग विवाह गरिन् । श्रीमान ज्ञानेन्द्र सँगै काठमाडौंको अनामनगरमा डेरा गरी बस्नेक्रममा फर्निसिङ्ग पसलमा २२ सय रुपैँया तलबमा अल राउण्डर भएर जागिर खाइन् ।

काठमाडौं जस्तो ठाउँमा डेरा गरी बस्न र खान उनीहरुलाई त्यति सहज थिएन । फेरि संघर्षको अर्काे मैदानमा उत्रिएकी बस्नेतले २०६५ सालमा अनामनगरस्थित एसिएन पब्लिक स्कुलमा ४२ सय रुपैँयामा जागिर खाइन् । श्रीमान ज्ञानेन्द्र विदेशीए ।

सोहि दौरानमा बस्नेतले न्याय कर्ममा पुग्ने अवसर पाइन् । उनले श्रीमानको सल्लाह बमोजिम ‘एलएलबी’ कक्षा जोइन गर्ने भइन् । यता स्कुलमा जागिर खादै गरेकी उनलाई विहान कलेज र दिउँसो स्कुलमा जागिर खाने समय मिलाउन निकै सकस थियो ।

नेपाल ल क्याम्पसमा एलएलबी पहिलो वर्षको नतीजा आयो । सात विषय मध्ये दुईवटा विषयमा ‘एफ’ लेखिएको थियो । स्कुलदेखि स्नातकोत्तर सम्म उर्तीण नतिजाको मार्कसिट समाएकी बस्नेतलाई ‘एफ’ को अर्थ बुझ्न दुई दिन लाग्यो । उनी आफ्नो हितेसी दाजु गुणराज कहाँ गइन् र सोधिन “ गुणराज दाई । यो एफ भनेको के हो? मैले त बुझिन् ! त्यतिबेला गुणराज मुर्छा परेर हाँस्दै भनेका थिए । लाटी ! ‘एफ’ भनेको फेल हो । त्यसपछि लाजले रातोपिरो भएर त्यहाँबाट निस्किएको उनी सुनाउँछिन् ” ।

२०६८ सालमा ‘एलएलबी’ उर्तीण गरि २०६९ मा पहिलो सन्तान छोरीको आमा भइन् बस्नेत । उनले २०७० सालमा ‘एलएलबी’ को लाइसेन्स हात पारिन् । एकातिर सन्तानलाई एक्लै छोड्नुको पिर, अर्कातिर सपनासहितको कानुन पासको लाइसेन्स । दिमाख र मन बीचको अन्तरद्वन्द चलिरहँदा उनी सर्वाेच्च अदालत पुगिन ।

जिल्ला बारमा पुग्दा उनले एक न्याय क्षेत्रमा काम गर्ने महिलालाई भेटिन । तर उनले अपेक्षा ठिक उल्टो भयो । उनी सुनाउँछिन्‘ मलाई उहाँले यो क्षेत्र महिलाको लागि होइन भन्नुभयो । यहाँ हेरेसमेन्ट हुन्छ, यहाँ टिक्न निकै गाह्रो छ भन्नुभयो । फेरि म हतोत्साहित भएर घर फर्किए । बेलुकी फोनमा श्रीमानलाई सबै कुरा सुनाए र श्रीमानले ती सबैकुरा त आफु गुनापो हुन्छ त । अब यी सबै कुरा सोचेर पछि पर्ने होइन भन्दै मलाई सम्झाउनु भयो ।” यसरी आफू सफल हुनुमा श्रीमान ज्ञानेन्द्रको पूर्ण हात रहेको कुरा प्रफुल्लित मुहारमा सुनाउछिन् , बस्नेत ।

त्योत २०७१ सालमा छोरी लिएर हेटौंडा झरेकी उनले छोरी शितल लाई माइतीमा राख्ने निधो गरिन् र आफूले बहस प्रयाक्टिस गर्न थालिन । ल फर्ममा जागिर खादै गरेकी उनले पहिलो मुद्धा लड्नमै सफलता हात पारेकी थिइन् । मुद्धा सफल भएपछि उनलाई ती महिलाले अंकमाल गर्दै भनेकी थिइन् “थ्याङ्क यू मेडम । हजुरले मेरो मुद्धा हेरेर सफल नभएको भए म आज मर्न बाँध्य हुनेथिए ।

जिल्ला कानुनी सहायता समितिमा ६ महिनाको करारमा जागिर खाएकी बस्नेतले कैयौं मुद्धा हेर्ने र बहस गर्ने मौका पाइन् । जुनकुरालाई उनले अवसरको रुपमा स्वीकारेकी छन् । यी दिनहरुमा आफ्नो कर्मले थुप्रै पुण्य कमाएको उनलाई महशुस भएका छन् । वृद्ध आमाले अङ्कमाल गर्दै आशिष दिएका क्षण होस या, उनको साहाराले पीडितले नयाँ जीवन पाएकोे क्षण सम्झिदा उनी अझैपनि भावुक हुन्छिन् ।

जिल्ला बार एशोसियसन मकवानपुरमा २०७५ सालमा अध्यक्ष पदमा लडेकी बस्नेत अर्का आकांक्षी ईश्वर अधिकारीसँग पराजित भएकी थिइन् । त्यसलगतै दोस्रो सन्तानकी आमा भएकी बस्नेत दुई वर्ष निष्क्रिय रहिन् । २०७९ सालमा पुनः अध्यक्षमानै लडेकी उनले यसपटक भने जीत हाँसिल गरिन र दुई वर्षीय कार्यकाल जिल्ला जिल्ला बार एशोसियसन मकवानपुरको अध्यक्ष भएर जिम्मेवारी वहन गरिन् ।

१२ वर्ष न्याय क्षेत्रमा बहस गर्दै भरपुर अनुभव समेटेकी बस्नेतले कैयौं सर्घषका मैदानहरु पार गरि अन्ततः देशमै पहिलो पटक प्रथम महिला मुख्य न्यायाधिवक्ताको जिम्मेवारी पाएकी छन् ।

बागमती प्रदेशकी नवनियुक्त मुख्य न्यायाधिवक्ता बस्नेतले गत मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरिन् । उनलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानूनी सल्लाहकार रहने व्यवस्था रहेको छ । अब उनको जिम्मेवारी थपिएको छ । प्रदेश सरकारलाई कानूनी विषयमा राय, सल्लाह र निर्देशन प्रदान गर्नुका साथै, प्रदेश सरकारको तर्फबाट अदालतमा उपस्थित भई प्रदेशको प्रतिनिधित्व गर्ने जिम्मेवारीसमेत मुख्य न्यायाधिवक्ताको रहनेछ ।

मुख्य न्यायाधिवक्ता बस्नेतले हालसम्म जिल्ला अदालत मकवानपुरमा दुई हजार बढी र उच्च अदालत पाटनमा ६ सय थान बढी मुद्धामाथि बहस गरेकी छन् । जसमा उनले ९६ प्रतिशत मुद्धा सफल गराएकी छन् ।

महिला भएकै कारण कुनै अप्ठ्यारा चुनौती सामना गर्नु नपरेकी बस्नेतलाई हरेक महिलाले आफ्नो क्षमतामाथि विश्वास राखे सफल भइन्छ भन्ने महशुस भएको छ । उनको भेट फरक विचारधाराका व्यक्तिहरुसँग कैयौंपटक भए ।

उनको क्षमतामाथि पटकपटक खोट निकाल्न चाहने पुरुष सहकर्मीहरुलाई जवाफले नभई क्षमताको झटारो हानिन् । उनले यो बीचमा सत्कर्म र लगावले कुनै लिङ्ग या वर्ग नभई केबल व्यक्ति सफल हुन्छ भन्ने परिभाषा प्रमाणित गरिन् । उनी मात्र न्यायको पक्षमा वकालित गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
15
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

मकवानपुरका ६ नेताको एमाले केन्द्रीय सदस्यमा उम्मेद्वारी

मकवानपुर । काठमाडौंमा जारी नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा मकवानपुरबाट प्रतिनिधि भएर गएका १७ मध्ये ६ जना नेताले केन्द्रीय सदस्य पदका लागि...

एकताबद्ध भएर चुनौती सामना गर्न रानाको आह्वान

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाले पार्टी पंक्ति एकताबद्ध भएर वर्तमान चुनौतीहरूको सामना गर्नुपर्ने बताएका छन्। नेकपा एमाले बाग्मती गाउँपालिका...

मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरद्वारा १४० विद्यार्थीलाई झोला र खाद्यान्न वितरण

मकवानपुर  । मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत १४० जना विद्यार्थीलाई विद्यालय झोला तथा खाद्यान्न वितरण गरेको छ। साथै...