मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा ८३ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष प्रदेशभर २७२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । तेस्रो त्रैमासिक समीक्षा अवधिसम्म लक्ष्यको करिब एक तिहाइ प्रगति हाँसिल गरेको हो ।
कुन जिल्लामा कति सडक भयो कालोपत्रे?
यो वर्ष मकवानपुरमा मात्रै प्रदेश सरकारले २४.७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा हालसम्म ५.९ किलोमिटरको काम सम्पन्न गरेको छ ।
यस्तै सिन्धुपाल्चोकमा २७ किलोमिटरको लक्ष्य लिएकोमा ७.३ किलोमिटर, रसुवामा १० किलोमिटरको लक्ष्य लिएकोमा ५.५ किलोमिटर, ३२.५ किलोमिटरको लक्ष्य राखिएको रामेछापमा ११.१९, ३१ किलोमिटरको लक्ष्य लिइएको काभ्रेमा ९.५ किलोमिटर, चितवनमा २८.५ किलोमिटरको लक्ष्य लिइएकोमा ७.५, दोलखामा १०.५ किलोमिटरको लक्ष्य लिइएकोमा ०.८ को काम सम्पन्न गरेको छ ।
यस्तै, सिन्धुलीमा १५ किलोमिटरको लक्ष्य लिइएकोमा ३ किलोमिटर, धादिङमा २० किलोमिटरको लक्ष्य लिइएकोमा ७, ३५ किलोमिटरको लक्ष्य लिइएको नुवाकोटमा १६ किलोमिटर मात्रै कालोपत्रे हुन सकेको मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौं, भक्तपुर र ललितपुरमा २१ किलोमिटरको लक्ष्य लिइएकोमा २.५ मात्र काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
त्यसोत, सडक कालोपत्रे मात्र नभएर अन्य शिर्षकमा पनि यो मन्त्रालयले लक्ष्य अनुसार प्रगति हाँसिल गर्न नसकेको तथ्याकंले स्पष्ट देखाउछ ।
ग्राभेलदेखि निर्माण पुल निर्माणसम्मको कार्यमा पनि सुस्तता
सडक कालोपत्रे मात्र होइन, ग्राबेल र , नयाँ ट्रयाक खोल्नेदेखि स्तरोन्नति, ढलान, नाला निर्माण र पुल निर्माण र खरको छाना उन्मुलन कार्यकम, चेपाङ वनकरिया एकीकृत वस्ती विकास कार्यक्रमका काममा पनि मन्त्रालयले अपेक्षित काम गर्न सकेको देखिँदैन ।
यो वर्ष ग्राबेल स्तरमा सडक स्तरोन्नति १७७, ३५ किलोमिटर नयाँ ट्रयाक र २१६ किलोमिटर ढलान, निर्माणको काम गर्ने मन्त्रालयको लक्ष्य थियो ।
९ महिनाको अवधिमा ६६ किलोमिटर ग्राबेल, ७ किलोमिटर नयाँ ट्रयाक खनिएको छ भने ७ वटा लक्ष्य राखिएकोमा २ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ ।
त्यसोत, नियमित र्ममत सम्भार, पक्की सडक निर्माण, जनता आवास कार्यक्रमका शिर्षकमा भने प्रगति अन्यको तुलनामा सन्तोषजनक देखिएको छ ।
चितवनमा यसवर्ष ग्राभेल स्तरका सडक स्त्तरोन्नति र नयाँ ट्रयाक निर्माण कार्य शुन्य छ । यहाँ सरकारले यस आर्थिक वर्षमा ७ वटा सडक ग्राभेल गर्ने लक्ष्य राखेको थियो । अन्य जिल्लामा नयाँ सडकभन्दा यसअघि नै खनिएको सडकको स्तरोन्नति र कालोपत्रेको काम धेरै छ । तर ती जिल्लामा पनि अपेक्षित रुपमा अन्य योजनाका काम नभएको अधिकारीहरु बताउँछन् ।
चौतीस सय बढी आयोजनाहरु सञ्चालनमा
मन्त्रालयका सुचना अधिकारी बासुदेव दहालका अनुसार चालु आर्थिक वर्षमा ठुला र साना गरी ३४०० बढी आयोजना सञ्चालनमा रहेका छन् ।
प्रदेश स्थापनादेखि हालसम्म प्रदेश सरकारले १५५ सडक पुल निर्माण गरेको छ । त्यस्तै १३१२.८८ किलोमिटर सडक कालोपत्रे, १२२३.०२ किलोमिटर सडकमा नयाँ ट्रयाक निर्माण, ९८३.६८ किलोमिटर सडक ग्राभेल, ५०२.६७ किलोमटर सडक ढलान गरेको छ । सरकारले यो अवधिमा ३२ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि पाएको २२ अर्ब ३६ करोड ७१ लाख ८२ हजार रुपैयाँ बजेटमध्ये हालसम्म ७ अर्ब ५८ करोड ४९ लाख २४ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । यो कुल बजेटको ३३.९१ प्रतिशत हो ।
कार्य प्रगति कमजोर हुनुमा जेनजी आन्दोलन र युद्धलाई दोष
मन्त्रालयका अधिकारीहरुले कार्यप्रगति कमजोर हुनुका पछाडि यसअघि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र इरान युद्धलाई दोष दिएका छन् । युद्धका कारण बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै निर्माण सामग्री अभावका कारण पूर्वाधारका काम प्रभावित भएको मन्त्रालयका सुचना अधिकारी बासुदेव दहालले जानकारी दिनुभयो ।
युद्धका कारण पेट्रोलियम पदार्थको भाउ बढेको र मुल्यवृद्धिका कारण सडक कालोपत्रे तथा अन्य निर्माणका सामग्री अभावको स्थिति सिर्जना भएको उहाँले बताउनुभयो । जसकारण यो वर्ष सम्पन्न गरिसक्ने भनिएका अधिकांश सडक पूर्वाधारका आयोजनाको म्याद थप गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
प्रदेशभर २७२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिइएकोमा हालसम्म ८३ किलोमिटर मात्रै प्रगति हाँसिल भएको छ ।
त्यसोत, बाँकी २ महिनामा बढीमा ५–१० किलोमिटरसम्म मात्रै सडक कालोपत्रे हुने आकँलन भौतिक मन्त्रालयले गरेको छ ।




